बालबालिकामा गरिएको लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि हुने बताएका छन् ।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका हुन् ।

यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले यस नाराले बालबालिकाको वर्तमानलाई सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको बताएकाछन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित व्यवहार, बालबालिकाको सर्वोत्तम हित, जीवन, बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यी मूल्य र मान्यतालाई नेपालको संविधानको धारा ३९ ले सुनिश्चित गरेको बालबालिकाको हक, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा थप सुदृढ गरेको उनले बताए ।

प्रधानमन्त्री शाहले अबको मुख्य प्राथमिकता संविधान र कानुनले सुनिश्चित गरेका बालबालिकाका अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको स्पष्ट पारेका छन् ।

“अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन आवश्यक छ,” उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री शाहले बालअधिकार संरक्षणका लागि तीनै तहका सरकारको भूमिका स्पष्ट र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । सङ्घ सरकारले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार सुदृढ बनाउने, प्रदेश सरकारले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्ने उनकाे भनाइ छ।

उनले तीनै तहका सरकारका प्रयासलाई एउटै परिणाममुखी दिशामा जोडेर प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र अधिकारसम्पन्न बालापनको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएमा छन् ।

बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्र देशको भविष्य समृद्ध, सबल र सुखद बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले बालअधिकारको संरक्षणलाई राज्यको साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएका छन् ।