काठमाडौं महानगर–११ को सेवा अब नवनिर्मित भवनबाट, आधुनिक सुविधा सहितको चारतले संरचना उद्घाटन

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं ११ वडा कार्यालयले आजदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यसअघि वबरमहलस्थित भाडाको भवनबाट सेवा दिँदै आएको वडा मंगलबारदेखि आफ्नै प्रशासनिक भवनमा सरेको हो ।

नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष तथा महानगरको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले सबै सेवाग्राहीका लागि पहुँच सुनिश्चित हुने गरी भवन निर्माण गरिएको जानकारी दिए । उनले भने, “शारीरिक अवस्था कमजोर हुने, व्हीलचेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरू हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलाका शौचालय सबैका लागि प्रयोगयोग्य छन् ।”

May be an image of one or more people, temple and text

उनका अनुसार महानगरका अन्य सार्वजनिक भवनहरू पनि सबै नागरिकको पहुँचमा हुने गरी डिजाइन र निर्माण भइरहेका छन् ।

भवन उद्घाटन कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. ९ का अध्यक्ष तथा कृषि, पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्वको विषय भएको बताएका छन् । उनीहरूले सेतो रङका भवनलाई प्रतीकका रूपमा उल्लेख गर्दै, सेवाहरू पनि भवनको रङझैं पारदर्शी र जवाफदेही हुने अपेक्षा व्यक्त गरेका छन् ।

२०८० मंसिर २८ गते शिलान्यास गरिएको भवन ५ करोड ७ लाख २७ हजार रुपैयाँ लागतमा आर.एस. निर्माण सेवा ले निर्माण गरेको हो । करिब ११ आना जग्गामा ७ हजार २५० स्क्वायर फिट क्षेत्रफलमा बनेको चारतले भवन बागदरबारकै शैली र उचाइमा निर्माण गरिएको छ ।

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनमा आधुनिक भित्री सुविधा रहेको छ । भुइँतला (१,६३०.८१ स्क्वायर फिट) बाट सेवाग्राहीले प्रत्यक्ष सेवा पाउनेछन् । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरका कक्ष, दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष, तेस्रो तलामा स्टाफ पेन्ट्री, मेलमिलाप कक्ष र ५० जना अट्ने सभा कक्ष निर्माण गरिएको छ ।

वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र भने पहिलेझैं वबरमहलमै सञ्चालन हुनेछ ।

No photo description available.