तनहुँ – तनहुँको ऋषिङ गाउँपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई नयाँ मतदान केन्द्र थप गर्ने सिफारिस भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको संयोजनमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले ऋषिङ गाउँपालिका–४ र ६ मा थप एक–एक मतदान केन्द्र आवश्यक रहेको सिफारिस स्थानीय तहबाट पाएको हो। प्रमुख जिल्ला अधिकारीका अनुसार, “भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्ने देखिएको छ। सहज रूपमा मतदान गर्नका लागि थप केन्द्र आवश्यक ठहरिएको छ।”
समितिले आइतबार बस्ने बैठकमा जिल्लाका सम्पूर्ण मतदान केन्द्र र मतदानस्थलको अन्तिम निर्णय गर्नेछ। निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय पठाउन निर्देशन दिएको छ।
ऋषिङ गाउँपालिका–बाट थप मतदान केन्द्र स्थापनाको आवश्यकता मूल्याङ्कन गर्न जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ।
तनहुँमा हाल दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन्। असोज ८ गतेसम्म जिल्लामा कुल मतदाता दुई लाख ४७ हजार ४ रहेका छन्, जसमा पुरुष १ लाख १९ हजार ८९ र महिला १ लाख २७ हजार ९१५ रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने समय रहेको छ, र हाल दर्ताका लागि कार्यालयमा ठूलो भीड लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।



