बाँकेमा रोपाइँ गर्न अझै आकाशे पानीको भर

नेपालगञ्ज – पर्याप्त वर्षा नहुँदा बाँकेमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ । लामो समयसम्म पानी नपर्दा अधिकांश किसानले रोपाइँ गर्न नसके पनि पछिल्ला दुई दिनको वर्षापछि जिल्लाभर धान रोपाइँले गति लिन थालेको छ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म जिल्लामा करिब १० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। केन्द्रकी सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले आकाशे पानी परेपछि मात्रै किसान खेतमा फर्किन थालेको बताए ।
उनका अनुसार मसिनो र मध्यम जातका धान खेती गर्ने किसानलाई वर्षा नहुँदा बढी समस्या परेको छ। मोटो धान खेती गर्ने किसानलाई भने केही ढिलो वर्षा भए पनि ठूलो असर नपर्ने उनको भनाइ छ।

बाँकेमा कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। सिक्टा सिँचाइ आयोजनाको नहर पुगेका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाका अधिकांश किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्।

दुई दिनअघि परेको वर्षाले खेतमा पर्याप्त पानी जमाएपछि किसानले राहत महसुस गरेका छन्। खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले पानी नपर्दा खेत सुक्नुका साथै धानको बीउ पहेँलिन थालेको र रोपाइँ अन्योलमा परेको बताए ।

“दुई दिनको वर्षाले किसानलाई ठूलो राहत दिएको छ। अब समयमै धान रोपाइँ सम्पन्न हुने आशा जागेको छ,” उनले भने, ।

नेपालगञ्ज–१९ सुईयागाउँका किसान ललवा माहुतका अनुसार अधिकांश किसानले कुनै न कुनै रूपमा धानको ब्याड राखे पनि पानी अभावका कारण रोपाइँ गर्न सकेका थिएनन्। अहिले वर्षा भएपछि गाउँघरमा धमाधम रोपाइँ सुरु भएको उनले बताए ।

सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले घरायसी मोटर तथा खानेपानीको धारा प्रयोग गरेर बीउको ब्याड जोगाएको पनि उनले जानकारी दिए ।

यसैबीच, सिक्टा सिँचाइ आयोजनाले धानको बीउ राख्ने समयलाई ध्यानमा राख्दै पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिरहेको जनाएको छ। आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको बाँधमार्फत सञ्चालनमा रहेको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष सिँचाइ सुविधा विस्तार भइसकेको छ।