भक्तपुर – भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर हरितालिका (तीज)को अवसरमा पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ।
तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर यसअघि वर्षमा दुईपटक मात्र सर्वसाधारणका लागि खुला हुँदै आएको थियो। तीजको अवसर पारेर आज बिहानदेखि मन्दिर खुला गरिएपछि दर्शनका लागि पुग्ने महिला श्रद्धालुको सहभागिता बाक्लिएको छ।
संस्कृति अध्येता गणेश रञ्जितकारका अनुसार तीजको अवसरमा व्रत बसेका महिलासहित सर्वसाधारणलाई केदारनाथको दर्शन सहज बनाउन मन्दिर खुला गरिएको हो। उनका अनुसार भक्तपुरको धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये महत्वपूर्ण मानिने उक्त मन्दिर तीजमा पहिलोपटक सर्वसाधारणका लागि खोलिएको हो।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथको जन्मोत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिका दिन गरी वर्षमा दुईपटक मात्र मन्दिर खुल्ने गरेको थियो। तीजका दिन व्रत बसेका श्रद्धालुलाई दर्शनको अवसर प्रदान गर्न यसपटक विशेष रूपमा मन्दिर खुला गरिएको उनले बताए ।
मन्दिर खुलेसँगै बिहानैदेखि दर्शनका लागि भक्तजनको उपस्थिति देखिएको छ। विशेषगरी तीजको व्रत बसेका महिलाको संख्या उल्लेख्य रहेको छ। मन्दिर दिनभर खुला रहने जनाइएको छ।
स्थानीय सबिना बोहजुले पहिलोपटक मन्दिरभित्र प्रवेश गरेर केदारनाथको दर्शन गर्न पाउँदा आफू निकै खुसी भएको बताए । उनका अनुसार विसं २०७२ को भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि भित्र रहेको महादेवको बाहिरबाटै दर्शन गर्नुपर्ने अवस्था थियो। तर, यसपटक मन्दिरभित्रै प्रवेश गरेर दर्शन गर्ने अवसर पाएको उनले बताए ।
यसैबीच, हरितालिका तीज २०८३ को अवसरमा भक्तपुर दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती आयोजना गरिने भएको छ।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिनेछ। धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका महिला तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
चारधाम क्षेत्रमा आयोजना हुने महाआरतीले भक्तपुरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई थप उजागर गर्ने विश्वास आयोजकको छ। तीजका अवसरमा भक्तजनको धार्मिक आस्थालाई केन्द्रमा राखेर कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी गरिएको जनाइएको छ।
संयोजक सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन् । उनले कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन भक्तजनको सहयोग र सहभागिता आवश्यक रहेको बताएका छन् ।



