तुलसीपुरमा निःशुल्क आँखा जाँचस् २४७ जनाको परीक्षण, ४० जनामा मोतिविन्दु पत्ता

दाङ — तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीमा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २४७ जनाले आँखा परीक्षण गराएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक तथा प्राविधिक सहयोगमा आइतबार वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरेको हो ।

शिविरमा हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले जीवनमा पहिलोपटक आँखा जाँच गराएकी हुन्। परीक्षणका क्रममा उनको दायाँ आँखामा मासु पलाएको भेटिएपछि स्वास्थ्यकर्मीहरूले तत्काल शल्यक्रिया गर्न सुझाव दिएका छन् । “पहिले कहिल्यै जाँच गरेकी थिइन”, दाहालले भनिन्, “अहिले आएर जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्नुपर्ने रहेछ ।”

त्यस्तै, सोही वडाका ८२ वर्षीय चेतनाथ पोख्रेलले परीक्षण गर्दा मोतिविन्दु देखिएको छ। स्वास्थ्यकर्मीहरूले उनलाई प्रत्येक ६÷६ महिनामा अस्पतालमा गएर नियमित जाँच गराउन सुझाव दिएका छन् । “पहिले आँखामा चिलाउने, आँसु आउने समस्या हुन्थ्यो,” पोख्रेलले भने, “अहिले जाँच गर्दा मोतिविन्दु नै भइसकेछ ।”

शिविरमा सहभागीहरूको जाँच गर्दा ४० जनामा मोतिविन्दु भेटिएको र ती सबैको निःशुल्क उपचार गरिने राप्ती आँखा अस्पतालले जनाएको छ । त्यसभन्दा बाहेक अन्य प्रकारका शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराइनेछ ।

वडाध्यक्ष खुसीराम चौधरीका अनुसार शिविरका कारण वडावासीलाई घरआँगनमै आँखा स्वास्थ्य सेवा पाउने सुविधा भएको छ । आँखासम्बन्धी समस्या लिएर धेरै नागरिकले उपचार टार्ने र रोग लुकाएर बस्ने अवस्थालाई कम गर्न पनि शिविरले सहयोग पु¥याएको उनले बताए ।