धादिङ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
सडक विभागले सडक खुलाउने कामको परीक्षण सफल भएपछि बाँकी प्राविधिक काम पूरा गरेर दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको हो। सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा एक चरणको ट्र्याक खोल्ने काम सफल भएको छ। परीक्षणका क्रममा ग्यास बुलेटसमेत पार गराएर सडकको अवस्था परीक्षण गरिएको थियो।
तर सडकमा ग्राभेल बिछ्याउने, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्ने काम भने बाँकी रहेको न्यौपानेले बताउनुभयो। यी काम पूरा गरेपछि असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको उनकाे भनाइ छ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले नदी कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग नै बगाएको थियो। नदी कटान र पहिरोका कारण राजमार्गको यातायात लामो समय प्रभावित हुँदै आएको छ।
कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक खोल्दा प्राविधिक जोखिम रहेको विभागले जनाएको छ। नेपाल जियोटेक्निकल सोसाइटीलगायत विज्ञसँग परामर्श गरेर पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्काल यातायात सञ्चालन गर्ने निर्णय गरिएको न्यौपानेले जानकारी दिए ।
सुरुमा एक लेनको ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने र त्यसपछि दुई लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको थियो। आइतबार उपलब्ध ग्यास बुलेटलाई पार गराउँदै ट्र्याकको परीक्षण गरिएको थियो। परीक्षण सफल भए पनि ग्राभेल तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक सञ्चालन रोकिएको विभागले जनाएको छ।
कृष्णभीरमा सडक खुलेपछि सामान्य अवस्थामा सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी रूपमा सञ्चालन गर्ने तयारी भए पनि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा अवस्था हेरेर यातायात व्यवस्थापनबारे निर्णय गरिने न्यौपानेले बताए ।
भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा समेत सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न विभागले अनुरोध गरेको छ।
बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको विभागले जनाएको छ। वर्षा तथा बाढीको अवस्था सामान्य भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार, मर्मत तथा पुनर्निर्माणका काम अघि बढाइने भएको छ।
सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ।



