सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, तीन दिनभित्र हाजिर हुन पत्रचार

काठमाडौं — सरकारले लामो समयदेखि कार्यालयमा हाजिर नभएका तथा सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी तथा अभिलेख अद्यावधिक गर्न प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (सामान्य प्रशासन क्षेत्र हेर्ने) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएको, लामो समयदेखि सम्पर्कमा नआएको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (एक्ष्क्) अद्यावधिक नभएको भन्दै सूचना जारी गरेको हो।

मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्ना निकायबाट स्वीकृत अध्ययन वा असाधारण बिदामा रहेका कर्मचारीहरूको विवरण यकिन गर्न पनि निर्देशन दिइएको छ । बिदा अवधि सकिएपछि कर्मचारी हाजिर भए वा नभएको अवस्था स्पष्ट पार्दै राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अभिलेख अद्यावधिक गर्न भनिएको छ ।

मन्त्रालयले बिदा अवधि समाप्त भए पनि कार्यालयमा उपस्थित नभएका वा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने संकेत समेत गरेको छ ।

सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे स्पष्ट तथ्यांक सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ।