खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सात वर्षपछि आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ। २७ कोठे चारतले प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले आइतबारदेखि सम्पूर्ण प्रशासनिक सेवा आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो।
भवन निर्माणका लागि २०७७ असार ३० गते रविना–अविसा कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० असार २२ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए ।
प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको भवनका लागि गाउँपालिकाले रु चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो। ठेकेदार कम्पनीले भने मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु तीन करोड ७५ लाख ४९ हजार ३३२ मा भवन निर्माण सम्पन्न गरेको हो।
नवनिर्मित प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापामगरले आइतबार औपचारिक उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गरे। उद्घाटन कार्यक्रममा अध्यक्ष राईले ढिलै भए पनि गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिन पाउँदा खुसी लागेको बताए ।
नयाँ भवनमा आवश्यक फर्निचरसमेत व्यवस्थापन गरिएको छ। फर्निचर खरिदका लागि इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग रु ९३ लाख ६२ हजार २१० मा सम्झौता गरिएको थियो। २०८० भदौ ३१ गते सम्झौता भएको उक्त काम २०८१ जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। फर्निचर खरिदमा रु ६४ लाख ३३ हजार ५५५ खर्च भएको सूचना अधिकारी गेलालले बताए ।
प्रशासनिक भवन निर्माणका लागि स्थानीय दाताले सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्। वडा नं ५ याङ्सोलाटारका होमप्रसाद राई, हर्कराज राई, भविन्द्र राई र इन्द्रप्रकाश राईले आफ्नो नाममा रहेको जग्गा गाउँपालिकाको नाममा निःशुल्क पास गरिदिएका हुन्।
यसअघि स्थानीयले उपलब्ध गराएको जग्गामा अस्थायी टहरा निर्माण गरी गाउँपालिकाको प्रशासनिक कार्यालय सञ्चालन हुँदै आएको थियो। सुविधासम्पन्न नयाँ भवन निर्माण भएपछि एउटै भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्न सहज भएको गाउँपालिकाले जनाएको छ।
प्रशासनिक भवन निर्माणको काम तत्कालीन गाउँपालिका अध्यक्ष एवं प्रदेशसभा सदस्य भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिको कार्यकालमा सुरु गरिएको थियो।



