काठमाडौं – नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको सञ्चालन मिति पुनः सरेको छ । यसअघि वैशाख १५ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि आवश्यक प्रक्रिया र तयारीका कारण मिति पछाडि धकेलिएको हो ।
आयोजनाले सुरुमा चैत महिनामा परीक्षण सञ्चालन गरी वैशाखदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, सो योजनाभन्दा करिब तीन महिना ढिलो गरी सुरुङमार्ग सञ्चालनमा आउने भएको छ।
आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार अब आगामी जेठभित्र सुरुङमार्गको परीक्षण सञ्चालन गरिनेछ भने साउन महिनादेखि सर्वसाधारणका लागि पूर्ण रुपमा खुला गरिने तयारी भइरहेको छ। “जेठभित्र ट्रायल सञ्चालन गर्ने र साउनबाट नियमित सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,” उनले भने।
उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९९.५ प्रतिशत पुगेको छ । यद्यपि, सञ्चालनअघि सुरक्षाकर्मी व्यवस्थापन, आपतकालीन उद्धार प्रणाली र आवश्यक तालिम जस्ता कामहरू बाँकी रहेका छन्।
यसैबीच, सुरुङमार्ग सञ्चालनको जिम्मा नेपाली–चिनियाँ संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सले पाएको छ। उक्त कम्पनीले ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा सञ्चालन गर्ने सम्झौता गरेको छ।
सुरुङमार्ग निर्माण कार्य जापानी ठेकेदार हाज्मा एन्दो जेभीले २०७६ कात्तिक २६ गतेबाट सुरु गरेको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न कारणले ढिलाइ हुँदै ६ पटकसम्म म्याद थपिएको थियो।
यसअघि २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि ढिलाइका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।



