काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा सफल नहुने दाबी गर्दै नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ नै अन्तिम र भरपर्दो विकल्प भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले नेपालमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङका क्रान्तिका रूपमा व्याख्या गर्दै अबको आवश्यकता आर्थिक समृद्धि, सुशासन र वातावरणमैत्री विकासमा आधारित हरित क्रान्ति भएको बताए।
उनले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पार्दै पार्टीको झण्डाको हरियो रङ र चुनाव चिह्न ‘चिम’ ले ऊर्जा तथा शक्तिको सन्देश दिने बताए।
घिसिङले विगतका राजनीतिक परिवर्तनलाई स्मरण गर्दै भने, “कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति। केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति भनेर प्रस्तुत गर्यो। तर निलो क्रान्ति धेरै समय टिक्दैन। अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति हो। यसले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, विकासको बलियो आधार तयार गर्छ र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ।”
उनका अनुसार हरित क्रान्तिको केन्द्रबिन्दु सुशासन हो। सुशासनबिना विकास सम्भव नहुने उल्लेख गर्दै उनले जलस्रोतको अधिकतम उपयोगमार्फत जलविद्युत्, हरित हाइड्रोजन र हरित युरिया उत्पादनलाई उज्यालो नेपाल पार्टीले प्राथमिकतामा राखेको बताए।
घिसिङले हालै सार्वजनिक बजेटमा हरित हाइड्रोजन र हरित युरियासम्बन्धी विषय समेटिएको उल्लेख गर्दै ती अवधारणा आफ्नो पार्टीले यसअघि नै घोषणापत्रमा समावेश गरेको दाबी गरे। सरकारले ती विषयलाई नीति तथा कार्यक्रममा स्थान दिएकोमा उनले सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए।
उनले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर, वातावरणीय रूपमा दिगो र राजनीतिक रूपमा स्थिर बनाउन हरित क्रान्तिको विकल्प नरहेको जिकिर गरे।
अध्यक्ष घिसिङले आगामी दिनमा उज्यालो नेपाल पार्टीको राजनीतिक अभियान सुशासन, ऊर्जा विकास, हरित अर्थतन्त्र र हरित क्रान्तिको अवधारणामै केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।



