काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी जिल्ला अधिवेशनअन्तर्गत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ। हालसम्म बागमती प्रदेशका ९ र कोशी प्रदेशका ९ जिल्लामा पहिलो चरणको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जिव पाठक निर्वाचित भएका छन्।
त्यसैगरी कोशी प्रदेशअन्तर्गत सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन्।
कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा भने आज अधिवेशन जारी रहेको आयोगले जनाएको छ। बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकको अधिवेशन स्थगित गरिएको छ।
यसैबीच, निर्वाचन आयोगले जिल्ला अधिवेशनमा प्रतिनिधि सहभागितासम्बन्धी मापदण्ड स्पष्ट गर्दै अधिवेशन सम्पन्न नभएका पालिकाबाट प्रतिनिधित्व नपाइने जनाएको छ। अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गतेअघि नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।



