अर्थमन्त्रीले सांसदहरूप्रति “हेप्ने र धम्की दिने शैली” मा अभिव्यक्ति दिनुभयो : पूर्वअर्थमन्त्री पुन

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूप्रति “हेप्ने र धम्की दिने शैली” मा अभिव्यक्ति दिएको भन्दै प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा ध्यानाकर्षण गराएका छन् ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेर तथा सूचना चुहावटसम्बन्धी विषयमा बिहीबार बसेको लेखा समितिको बैठक र प्रतिनिधिसभामा भएको छलफलका क्रममा उक्त विषय उठेको हो ।

नेता पुनका अनुसार अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गर्दै विगतका कर हेरफेरको तुलना गरेर प्रस्तुत भएको र त्यो शैली “हेप्ने तथा धम्की दिने जस्तो” भएको टिप्पणी गरे ।

“अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं, हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६/७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो,” पुनले बैठकमा भने, “यो दुःखद कुरा हो ।”

उनले संसदीय समितिको गरिमा कायम राख्नुपर्ने र यस्तो अभिव्यक्तिमा समितिका सभापतिबाट आवश्यक रुलिङ हुनुपर्ने माग समेत गरे ।

समितिका सभापति भरत बहादुर खड्काले उक्त विषयप्रति आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन् ।