नदी कटान, बाढी र पहिरोको जोखिम बढ्दै, मङ्गलाले संरक्षण कार्यक्रमलाई दियो प्राथमिकता

म्याग्दी, – म्याग्दी नदीको तीव्र कटान, स्थानीय खोल्साहरूमा आउने बाढी तथा पहिरोका घटनाले म्याग्दीको मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढ्दै गएको छ । विगतका ठूला विपद्का घटना, खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो खतरा मध्यनजर गर्दै गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको बताए । उनका अनुसार वर्षायाममा नदी कटान र खोल्सामा आउने बाढी तथा सुक्खा मौसममा डढेलो र आगलागीका घटना दोहोरिने गरेका छन् । जोखिमयुक्त क्षेत्रको पहिचान गरी नदी नियन्त्रण, पहिरो रोकथाम, वृक्षरोपण, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

मङ्गला गाउँपालिकाले विगतमा ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको छ । विसं २०५८ मा अर्मनमा गएको पहिरोमा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने दर्जनौँ घर, विद्यालय र खानेपानीका संरचना क्षतिग्रस्त भएका थिए। त्यसभन्दा अघि विसं २०४५ मा निस्कोटको भिर भत्किँदा म्याग्दी खोला थुनिएर आएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको थियो ।

हाल छिसवाङ, कुरसिम्ला, पिपलबोट, सेराफाँट, हाडेभिर, बाबियाचौर, काँशेबगर, सिमलचौर र बान्द्रेसहितका क्षेत्रलाई नदी कटानको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। स्थानीयवासीका अनुसार नदीको बहाव परिवर्तन र निरन्तर कटानका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।

पानाबगरका स्थानीय जितबहादुर किसानका अनुसार म्याग्दी नदीले उनको चार रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरिसकेको छ । नदीले खेत मात्र नभई बस्तीलाई समेत जोखिममा पारेको उनको गुनासो छ ।

गाउँपालिकाका अनुसार म्याग्दी नदीको करिब १० किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्न करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यसैबीच सङ्घीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काँशेबगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।

गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख रुचेन्द्र अधिकारीका अनुसार करिब ४२ लाख रुपैयाँ लागतमा म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त योजनाबाट २५० भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यस्तै हाडेभिर क्षेत्रमा निर्माण गरिएको नदी नियन्त्रण संरचनाले बस्ती, स्वास्थ्यचौकी, निर्माणाधीन अस्पताल भवन तथा सडकलाई कटानबाट जोगाउन प्रभावकारी भूमिका खेलेको छ । प्रदेश सरकारको सहयोगमा सिम र ताराखेत क्षेत्रमा पनि नदी नियन्त्रणसम्बन्धी योजना सम्पन्न भइसकेका छन्।

यद्यपि हिलवाङखोला, छिसवाङ र रातोढुङ्गा क्षेत्रमा नदी नियन्त्रणका लागि सङ्घीय सरकारले विनियोजन गरेको एक करोड ५० लाख रुपैयाँ बजेट भने विवादका कारण कार्यान्वयन हुन नसकी फिर्ता भएको मङ्गला गाउँपालिका–५ छिसवाङका पृजेन भट्टचनले बताए ।

विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पाँचै वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्थापन, सडक मर्मत तथा हरित सडक अभियान सञ्चालन गरेको जनाएको छ। तर मनसुनजन्य विपद्बाट प्रभावित नागरिकको निजी आवास पुनःनिर्माणमा भने समस्या देखिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी अधिकारीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रणालीमा लाभग्राहीको विवरण अद्यावधिक हुन नसक्दा पछिल्ला तीन वर्षयता १९ जना विपद्पीडित अनुदान सम्झौताबाट वञ्चित भएका छन् । स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।