सबैले मिलेर पार्टीलाई अझ बलियो बनाउनुपर्ने छ : सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैले मिलेर पार्टी सङ्गठनलाई अझ सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले यस्तो आवश्यकता औँल्याएका हुन्।

Shivam Cement

उनले भने, ‘नेपाल सङ्घीय व्यवस्थामा गइसकेपछि पार्टीभित्र पनि समावेशी सिद्धान्त पालना गरेका छौँ। थारु समुदायसहित महिला, मुस्लिम, आदिवासी जनजाति समुदायबाट सहमहामन्त्री अनिवार्य हुने व्यवस्था पार्टीको विधानमा। क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा थारु आउने अनिवार्य व्यवस्था गरेका छौँ।’

नेपाल विविधताले भरिएको देश हो भन्दै सभापति देउवाले यहाँका सबै जात, जाति, भाषा र संस्कृतिको उच्च सम्मान गर्नुपर्नेमा सभापति देउवाले जोड दिए। ‘यो देश सबैको साझा हो, सबै नागरिकलाई सम्मान प्राप्त हुने व्यवहार गरिनुपर्छ,’ उनले भने।

यस्तै नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको पनि बताए।