सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे आज सर्वोच्चको सुनुवाइ हुँदै

काठमाडौं, फागुन १४ गते । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पुगेको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ हुँदैछ ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।

शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।