काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोलेको छ । अर्कोतर्फ, लगातार दुई खेल जितेर लयमा देखिएको कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार बेहोरेको छ ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै जितको आधार तयार पारे । राशिदले ३३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । त्यस्तै कप्तान करणले २० बलमै चार चौका र तीन छक्का प्रहार गर्दै ४४ रन जोडे ।
जाहन्दाद खानले अविजित २२ रन बनाए भने मोहम्मद आदिल आलमले २० रनको योगदान दिए । उनीहरूको महत्त्वपूर्ण साझेदारी र आक्रामक ब्याटिङका कारण काठमाडौंले निर्धारित २० ओभर सकिनुअघि नै लक्ष्य भेट्टाउन सफल भयो ।
कर्णालीका बलर सोमपाल कामी र हुसेन तलातले समान दुई विकेट लिए । मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । कर्णालीका लागि अरिफूल इस्लामले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन बनाए ।
हुसेन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए । त्यस्तै गुल्शन झाले २० र मार्क वाटले १७ रनको योगदान दिए । कर्णालीले राम्रो सुरुआत र प्रतिस्पर्धात्मक योगफल बनाए पनि त्यसलाई जितमा परिणत गर्न सकेन ।
काठमाडौंका लागि कप्तान करण केसीले बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए । शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान एक–एक विकेट हात पारे ।
यस जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो पहिलो सफलता हासिल गरेको छ भने कर्णालीको लगातार जितको यात्रामा पूर्णविराम लागेको छ । सोमबार नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।



