काभ्रे – स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको कालोपत्रे कार्य बिटुमिन अभावका कारण दुई महिनादेखि रोकिएको छ । काभ्रेको प्रमुख सडकखण्डमध्ये एक मानिने यो सडकमा निर्माण कार्य अवरुद्ध हुँदा यात्रु र स्थानीयवासीले सास्ती खेपिरहेका छन् ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैत महिनामा करिब एक महिनासम्म रातको समयमा यातायात बन्द गरी तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (म्भलकभ द्यष्तगmष्लयगक ःबअबमबm) कालोपत्रे गरिएको थियो । त्यसपछि बिटुमिनको अभाव भएपछि थप पक्की बनाउने तथा अन्तिम तहको अस्फाल्ट बिछ्याउने काम रोकिएको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले कच्चा पदार्थको अभावका कारण वैशाखदेखि सुरु गर्ने योजना रहेको दोस्रो चरणको काम प्रभावित भएको बताए । उनका अनुसार चार किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत पहिलो चरणमा धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडक दुवैतर्फ पक्की बनाइएको छ भने बाँकी १.५ किलोमिटर खण्डमा काम हुन सकेको छैन ।
हाल यात्रुलाई सहज बनाउन सडकका खाल्डाखुल्डी पुर्ने तथा मर्मतसम्भार गर्ने काम भइरहेको छ । बिटुमिन आयात भएपछि बाँकी सडकमा ग्राभेलमाथि सिमेन्ट मिश्रित बेस हालेर डिबिएम तथा अस्फाल्ट कालोपत्रे गरिने कार्यालयले जनाएको छ ।
लामो समयसम्म निर्माण व्यवसायीको ढिलासुस्तीका कारण प्रभावित बनेको यस सडकको स्तरोन्नति कार्यलाई नयाँ निर्माण कम्पनीमार्फत पुनः अघि बढाइएको थियो। डिभिजन सडक कार्यालयले गत कात्तिकमा सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिएको हो । सम्झौताअनुसार आगामी पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि निर्माणको जिम्मा पाएको गौरी–पार्वती निर्माण सेवा कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि कार्यालयले ठेक्का रद्द गरेको थियो। २०७९ जेठ २० गते सम्पन्न भएको सम्झौताअनुसार २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि प्रगति अत्यन्त न्यून रहेकाले २०८१ फागुन १५ गते ठेक्का रद्द गरिएको थियो ।
अरनिको राजमार्गको यो सडकखण्ड नेपाल–चीन व्यापारिक नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लासँगको मुख्य यातायात मार्ग भएकाले यसको स्तरोन्नति कार्यलाई विशेष महत्वका साथ हेरिएको छ । तर बिटुमिन अभावका कारण निर्माण कार्य पुनः प्रभावित हुँदा निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ ।



