काठमाडौँ – रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको हो।
प्रतिवेदनअनुसार बाढी प्रभावित विभिन्न स्थानीय तहमा एक हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ। यसबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ।
धान खेतीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। विदुरमा मात्रै ७०० हेक्टर धान खेती हुने क्षेत्र प्रभावित हुँदा २ हजार ४५० टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै, लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
धादिङमा बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेतीमा समेत बाढीले क्षति पुर्याएको छ। यसबाहेक नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानीय तहमा समेत कृषि उत्पादन प्रभावित भएको प्रतिवेदनले जनाएको छ।
तरकारी उत्पादनतर्फ पनि नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा करिब एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी खेती प्रभावित भएको छ।
पशुपन्छीमा १ अर्ब ११ करोडभन्दा बढीको क्षति
बाढीले पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। प्रतिवेदनअनुसार २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य रु १ अर्ब ११ करोड ३९ लाख रहेको छ।
सङ्ख्याका आधारमा कुखुरा सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीबाट करिब २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो। तर मूल्यका आधारमा कुखुराको क्षति कुल पशुपन्छी क्षतिको ४.८ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ।
भैँसीतर्फ भने क्षतिको आर्थिक भार सबैभन्दा बढी देखिएको छ। बाढीबाट ४ हजार ५७२ भैँसी प्रभावित हुँदा त्यसबाट मात्रै करिब रु ४५ करोड ७२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो।
त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा रु ३९ करोड १३ लाख, गाईगोरुमा रु १७ करोड ९२ लाख बराबरको क्षति पुगेको छ। बाख्रा तथा च्याङ्ग्राको क्षति कुल पशुधन क्षतिको ३५.१ प्रतिशत र गाईगोरुको क्षति १६.१ प्रतिशत रहेको छ।
प्रतिवेदनअनुसार अन्य पशुमा रु १ करोड ४ लाख, बङ्गुर तथा बँदेलमा रु १ करोड ९६ लाख, भेडामा रु २५ लाख, कुखुरामा रु ५ करोड ३७ लाख तथा अन्य चरामा करिब रु १ लाख बराबरको क्षति भएको छ।
कुल पशुधन क्षतिको ९२.३ प्रतिशत हिस्सा भैँसी, बाख्रा–च्याङ्ग्रा र गाईगोरुबाट मात्रै भएको देखिएको छ। यसले बाढीका कारण कृषि उत्पादनमा मात्र नभई ग्रामीण परिवारको आम्दानीको प्रमुख आधार मानिने पशुपालनमा समेत गम्भीर असर परेको देखाउँछ।
भोटेकोशी र आसपासका क्षेत्रमा आएको बाढीले खेतबारी, पशुपन्छी र कृषि पूर्वाधारमा पुर्याएको क्षतिले प्रभावित जिल्लाका किसानको उत्पादन र आम्दानीमा दीर्घकालीन असर पार्न सक्ने देखिएको छ। क्षतिको पुनःस्थापना, कृषकलाई राहत तथा आगामी उत्पादनका लागि आवश्यक बीउ, पशुधन र अन्य कृषि सामग्रीको व्यवस्थापन तत्काल गर्नुपर्ने आवश्यकता देखिएको छ।



