विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षति हुने गरी पूर्वतयारी र व्यवस्थापनका काम अघि बढाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनमा परम्परागत कार्यशैलीबाट माथि उठेर जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने बताए ।

उनले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरी प्रभावकारी नीति तथा कार्यक्रम बनाउन निर्देशन दिँदै राहत र उद्धारमा संलग्न सबै निकायबीच एकीकृत सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

“एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहकार्य गरी जनधनको क्षति कम गर्ने गरी काम हुन आवश्यक छ । विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस्,” उनले भने, ।

गृहमन्त्री गुरुङले विगतमा विपद् आइसकेपछि मात्रै उद्धार र राहतमा सक्रिय हुने प्रवृत्तिले अपेक्षित परिणाम दिन नसकेको बताए । अब विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

“हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनेतर्फ सबैको ध्यान जान आवश्यक छ,” उनले भने,।

विपद्को नाममा हेलिकप्टर दुरुपयोग रोक्ने चेतावनी

गृहमन्त्री गुरुङले विपद् प्रभावित क्षेत्रको निरीक्षणका नाममा विगतमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको भन्दै राज्यको स्रोतसाधन दुरुपयोग रोक्ने स्पष्ट पारे ।

उनले राहत तथा उद्धारमा खटिएका सुरक्षा निकायका कर्मचारीबाहेक अन्य व्यक्तिले विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताए ।

“हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने पक्षमा म छैन । विपद्को नाममा असान्दर्भिक र अनधिकृत भ्रमणलाई अब छुट दिइने छैन,” उनको भनाइ थियो ।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।