काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले बिहीबार निर्णय गर्दै नेपाल प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा उक्त सरहका कर्मचारीलाई रिक्त स्थानमा पठाएको हो ।
मन्त्रालयका अनुसार जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारी यसअघि विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत थिए । नयाँ सरकार गठनपछि लामो समयदेखि रिक्त रहेका स्थानीय तहका पदहरूमा कर्मचारी पठाउने प्रक्रिया तीव्र बनाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले स्थानीय तहको प्रशासनिक कामलाई प्रभावकारी बनाउन रिक्त रहेका स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउन थालेकी हुन् । यसअघि मन्त्रालयले विभिन्न जिल्लाका समन्वय समिति तथा नगरपालिकामा समेत ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको जनाएको छ ।
स्थानीय तहको प्रशासनिक कामकाज सञ्चालन, विकास कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण मानिन्छ। मन्त्रालयले बिहीबार खटाइएका ७८ गाउँपालिकाको नामसहितको विवरण पनि सार्वजनिक गरेको जनाएको छ ।










