भोटो देखाउने जात्रा शनिबार

काठमाडौं – करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो देखाइएपछि औपचारिक रूपमा सम्पन्न हुने भएको छ । राष्ट्र प्रमुखको उपस्थितिमा ललितपुरको जावलाखेलस्थित ललित मण्डपमा हुने भोटो जात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि सर्वसाधारण तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरिनेछ। भोटो देखाउने कार्यक्रम रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण अनुष्ठान मानिन्छ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन रहिआएको छ ।

संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन र विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो। शताब्दीयौँदेखि निरन्तर सञ्चालन हुँदै आएको यो पर्वले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई बलियो बनाउँदै आएको छ ।

राजतन्त्रकालमा भोटो जात्रामा राजाको उपस्थिति रहने परम्परा थियो भने गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन् । यसले भोटो जात्रालाई राष्ट्रिय महत्वको सांस्कृतिक समारोहका रूपमा स्थापित गरेको छ ।

भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा छ । त्यससँगै यस वर्षको जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ ।

वडाध्यक्ष खड्काले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सञ्चालन भएको बताउँदै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई सुरक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएको छ ।