उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो, उपत्यकामा आपूर्ति सहज बनाउने प्रयास

काठमाडौँ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास बोटलिङ गर्न थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौँ प्रवेश गर्न नसक्ने भएपछि विभिन्न ग्यास उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गरी आफ्ना सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यासको प्लान्टमा भरेर काठमाडौँ पठाउन थालिएको छ।

बाबा ग्यासका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले १ हजार ५०० वटा श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा रहेको छ।

त्यस्तै, साइबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर पठाएको छ।

गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौँका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाइएको छ। यसैगरी बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन्।

कालाखेतीले भने , “साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ।”

उनका अनुसार भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी आएको छैन। बुलेट पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत राजधानी पठाइरहेकाले उपत्यकामा ग्यासको अभाव हुने अवस्था नरहेको उनकाे भनाइ छ।

गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको जनाउँदै कालाखेतीले यो हालसम्मकै उच्च परिमाणमध्ये एक भएको बताउनुभयो। सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उनले स्पष्ट पारे ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ।

उहाँका अनुसार उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर उपत्यका ल्याउन थालेका छन्।

उपत्यका र छिमेकी जिल्लामा मुलुकको कुल ग्यास खपतको करिब ४० प्रतिशत खपत हुने भएकाले सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक बोटलिङ व्यवस्था गरिएको हो।