मन्त्रिपरिषद्को निर्णय : ८ एआईजी सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो।

मन्त्रिपरिषद्ले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्नुका साथै शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।

त्यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (ग्ल्ऋीइक्) अन्तर्गतको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

यसका अतिरिक्त मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिए ।