यो देश गरिबको पनि हाे भन्दै सुकुमबासी एकता अभियानमा जुट्दै श्रम संस्कृति पाटी

काठमाडौं – श्रम संस्कृति पार्टीले देशभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारले सुकुमबासी बस्ती हटाउने अभियान अघि बढाइरहेको समयमा पार्टी अध्यक्ष हर्क साम्पाङले पार्टी संरचनालाई देशव्यापी रूपमा संगठन विस्तार गर्न निर्देशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा देशभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान सञ्चालन गर्न सबै जिल्ला र पालिका समितिलाई आग्रह गरेका छन् ।

साम्पाङले यो देश गरिब वर्गको पनि भएको भन्दै सुकुमबासी र अव्यवस्थित बसोबासीको एकता अभियान श्रम संस्कृति पार्टीले संयोजन गर्ने बताएका छन् ।

उनले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई सचेत रहन र संगठित भएर बस्न आग्रह गर्दै सरकारको हालको नीतिप्रति असन्तुष्टि जनाएका छन् । साथै उनले श्रम संस्कृति अभियानकर्मीहरूलाई गरिब तथा विपन्न वर्गको पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।