काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आयोजना गरेको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई छिट्टै स्तरोन्नति गरी पर्यटनमैत्री राजमार्गका रूपमा विकास गरिने योजना रहेको जानकारी दिए।
उनले पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय मार्गका रूपमा स्थापित गरिने बताए। साथै, मुस्ताङ–डोल्पा सडक निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको उनले स्पष्ट पारे।
मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा उच्च हिमाली भूभागका कारण पर्यटकमा ‘लेक लाग्ने’ (उच्च उचाइको स्वास्थ्य समस्या) जोखिम बढ्दै गएको उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि ‘पर्यटक टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा मुस्ताङका पर्यटन व्यवसायी तथा पर्यटनसम्बन्धी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले पर्यटन पूर्वाधार, सेवा विस्तार, सडक स्तरोन्नति, स्वास्थ्य सुरक्षा र पर्यटकीय गतिविधि प्रवर्द्धनसँग सम्बन्धित समस्या तथा सम्भावनाबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।



