काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्राको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा टोलीले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग तथा प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरूसँग नेपालको अर्थतन्त्रका विविध पक्षमा छलफल गरेको छ।
आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलमा नेपालका लागि आईएमएफका मिसन प्रमुख डा. सरवत जहाँ र आवासीय प्रतिनिधि प्रणव गुप्ता पनि सहभागी थिए। टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेटवार्ता गरेको थियो।
भेटका क्रममा नेपालको समष्टिगत आर्थिक अवस्था, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा संरचनागत सुधारलाई अघि बढाउने नीतिगत प्राथमिकताका विषयमा विस्तृत छलफल भएको आईएमएफले जनाएको छ।
भ्रमणका क्रममा आईएमएफ टोलीले प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रिया गरेको थियो। सो अवसरमा नेपालसँगको आईएमएफको साझेदारी तथा हालै सम्पन्न विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमबारे प्रस्तुतीकरण गरिएको थियो। सांसदहरूले नेपालको आर्थिक प्राथमिकता, सुधारका एजेन्डा तथा आगामी नीतिगत दिशाबारे आफ्ना धारणा राखेका थिए।
भ्रमण सम्पन्न भएपछि उपनिर्देशक डा. जैन–चन्द्राले सरकार, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र संसदीय अर्थ समितिसँग भएको छलफल फलदायी रहेको बताउँदै विभिन्न पक्षका दृष्टिकोण बुझ्ने अवसर मिलेको उल्लेख गरिन्।
उनले नेपालको आर्थिक विकास र सुधारका प्रयासमा आईएमएफको सहयोग तथा साझेदारी आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन्।



