अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकियो

जनकपुरधाम, फागुन २३ गते । जनकपुरधामको अन्तः गृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारीे मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने परिक्रमा आरम्भ भएको थियो ।

परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरूले नेपाल र भारतका विभिन्न विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम पुगेर बास बसी आज (मङ्गलवार) बिहान स्नान गरी पूजापाठ गरेर जनकपुरधामको अन्तः गृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

अन्तः गृह परिक्रमालाई पञ्च कोसी परिक्रमा पनि भनिन्छ । अन्तः गृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरू समेत सहभागी हुने गर्दछन् । यो परिक्रमा पश्चात् मिथिलाञ्चलमा होली सुरु भएको मानिन्छ । अन्तः गृह परिक्रमा पश्चात् जनकपुरधाममा होली मनाउने परम्परा बनेको रहेको छ ।

नेपाल र भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ वटा विश्राम स्थल छन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्छन् ।

जसमा ठेरा कचुरीबाट भएको परिक्रमा जनकपुरधामको हनुमाननगर(हनुमानगढी) हुँदै भारतको कल्याणेश्वर र गिरिजा स्थानमा विश्राम गर्ने गरिन्छ । त्यसपछि मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारतको विशौल हुँदै कल्याणेश्वर पुग्ने गर्दछ । त्यसपछि जनकपुरधाम आएर अन्तः गृह परिक्रमापछि पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा समापन हुने गरेको छ ।

जनकपुरधामको अन्तः गृह परिक्रममा समापन पश्चात् परिक्रमका सहभागीहरू आ–आफ्नो घर फर्किने छन् ।