काठमाडौं – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै कर अनुपालन अभिवृद्धि, वास्तविक कारोबारको अभिलेखीकरण तथा पारदर्शी कर प्रणाली निर्माणका लागि बिल लिने–दिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएको हो।
विभागले हाल सञ्चालनमा रहेको करदाता प्रोत्साहन उपहार कार्यक्रम मा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्तालाई कुनै पनि वस्तु वा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन आग्रह गरेको छ।
त्यसैगरी, प्यान (स्थायी लेखा नम्बर) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिई कर प्रणालीमा आबद्ध हुन विभागले अनुरोध गरेको छ। साथै, सबै व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै त्यसको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
विभागका अनुसार बिल लिने–दिने अभ्यास प्रभावकारी हुँदा कर प्रणाली थप पारदर्शी बन्ने, वास्तविक कारोबारको अभिलेखीकरण सहज हुने तथा करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।
सरकारले चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत बिल लिने उपभोक्तालाई दैनिक र बम्पर नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेसँगै विभागले सबैलाई बिल लिने–दिने अभ्यासलाई जीवनशैलीकै हिस्सा बनाउन आग्रह गरेको छ।



