बजेट अभावले म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी — गण्डकी प्रदेश सरकारमार्फत सञ्चालनमा रहेका रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजना बजेट अभावका कारण प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय का अनुसार चालु आर्थिक वर्षमा जिल्लाका ३२ सडक योजनाका लागि रु ६२ करोड विनियोजन गरिए पनि बजेट सकिएपछि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् ।

बेनी–पाखापानी सडकअन्तर्गत भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर कालोपत्र तथा ग्राभेल कार्य लक्ष्यभन्दा पाँच महिना अघि सम्पन्न भए पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए । रु दुई करोड बजेट विनियोजन भएको उक्त योजनामा थप रु दुई करोड ५० लाख अपुग रहेको छ ।

त्यस्तै, गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि समयमै काम सक्दा समेत भुक्तानी नपाउँदा मजदुरको ज्याला र आपूर्तिकर्तालाई ऋण खोजेर तिर्नुपरेको गुनासो गरे । हाडेभिर–बगरफाँट–भकिम्ली तथा भगवती–सिजलगाउँ–बेग सडक योजनाका काम भने बजेट सकिएपछि स्थगित भएका छन् ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँ का अनुसार क्रमागत १७ योजनाका लागि रु ५२ करोड र नयाँ १५ योजनाका लागि रु १० करोड बजेट विनियोजन गरिएको थियो । तर दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडकबाहेक अधिकांश आयोजनामा बजेट अभाव देखिएको छ ।

उनका अनुसार आन्तरिक स्रोत रकमान्तरण र थप बजेटका लागि मन्त्रालयमा सिफारिस गरिएको छ । “काम भएका योजनामा बजेट सकिएको छ, बजेट भएका योजनामा काम हुन सकेको छैन,” उनले बताए ।

जिल्लाका विभिन्न सडक आयोजना—बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–तमान–बुर्तीवाङ, गलेश्वर–पिप्ले–भगवती, चित्रे–घोडेपानी लगायत—निर्माणाधीन अवस्थामा छन् ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारी ले बजेट अभावका कारण सडक निर्माण अवधि लम्बिने अवस्था आएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

बजेट अभावका कारण निर्माण कार्य ढिलाइ हुनुका साथै व्यवसायीलाई आर्थिक दबाब बढेको छ भने स्थानीयस्तरमा विकासको गति समेत प्रभावित बनेको छ ।