प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं, चैत १२ गते । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुहुने छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा त्यसमा छलफल हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन् । तर संक्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।