डोल्पा – डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेहरूको पहिचान तथा दुर्घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको छ।



