इन्धन सस्तो भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटाउन आग्रह

काठमाडौं – सरकारले इन्धनको मूल्यमा आएको उल्लेख्य गिरावटपछि दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गरी उपभोक्तालाई राहत दिन उद्योगी, व्यवसायी र विक्रेतालाई आग्रह गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार सूचना जारी गर्दै ढुवानी र उत्पादन लागत घटेकाले त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्‍याउन सबै सरोकारवालालाई अनुरोध गरेको हो।

पश्चिम एसियामा देखिएको संकट सामान्य बन्दै गएपछि नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँले घटाएको थियो।

विभागले इन्धनको मूल्य घटेसँगै उत्पादन र ढुवानी लागत पनि कम हुने भएकाले अत्यावश्यक खाद्यवस्तुसहित सबै वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको छ।

सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले उपभोक्ताको अधिकार संरक्षण गर्ने दायित्व सबै सरोकारवालाको भएको स्मरण गराउँदै बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विक्रेता, उद्योगी, ढुवानी व्यवसायी, छाता संस्था तथा उपभोक्ता स्वयं पनि जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।

इन्धनको मूल्य उल्लेख्य रूपमा घटे पनि बजारमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु र सेवाको मूल्य सोही अनुपातमा नघटेको गुनासो बढिरहेका बेला विभागले मूल्य समायोजनका लागि सार्वजनिक आग्रह गरेको हो।