अर्को सूचना जारी नभएसम्म बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’,

काभ्रेपलाञ्चोक : रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै सम्भावित बाढी तथा सडक जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण राजमार्गमा जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन होल्ड गरिएको हो।

प्रहरीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि नयाँ सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिनेछ।

प्रशासनले यात्रु तथा सवारीचालकलाई अत्यावश्यक बाहेकका यात्रा नगर्न, मौसम र सडक अवस्थाबारे सतर्क रहन तथा आधिकारिक सूचना पछ्याउन आग्रह गरेको छ।

यस्तै, अद्यावधिक जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।