बचत फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन, ‘साना–ठूला बचतकर्ता भनेर विभाजन नगर’

काठमाडौँ — सहकारी पीडितहरूले बचत रकम समान रूपमा फिर्ता गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले साना र ठूला बचतकर्ताबीच विभाजन सिर्जना गरेर आन्दोलन कमजोर पार्न खोजेको आरोप लगाएका छन्।

प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनरत सहकारी पीडितहरूको बचत रकम तत्काल फिर्ता गर्न सरकारसँग माग गरे । उनले  पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएको गुनासो गर्दै पीडितका समस्या समाधान नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

“सहकारी पीडितसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरिनुपर्छ,” केसीले भने, “सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितलाई विभाजन गर्न खोज्नु उचित होइन। सबै पीडित समान हुन् र सबैलाई समान व्यवहार हुनुपर्छ।”

उनले सरकारले हाल ठूला ऋणीबाट कर्जा असुली गरी साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति अघि बढाएको भन्दै यसले पीडितहरूबीच विभाजन ल्याउने प्रयास गरेको आरोप लगाए ।

प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देऊ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले आफूहरू पीडित बनेका सहकारी संस्थाका सञ्चालकहरूको तस्वीरसहितका ब्यानर पनि प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले बचत रकम फिर्ता, दोषीमाथि कारबाही तथा विगतमा भएका सम्झौताको कार्यान्वयनको माग दोहोर्‍याएका छन्।

सहकारी क्षेत्रमा देखिएको संकटका कारण देशभर हजारौँ बचतकर्ता प्रभावित बनेका छन्। पीडितहरूले आफूहरूको बचत सुरक्षित रूपमा फिर्ता हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।