काठमाडौं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँच वटा महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुनेछ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
तीन संसदीय समितिको बैठक पनि आजै
प्रतिनिधिसभा बैठकसँगै आज तीन वटा संसदीय समितिको बैठक पनि बस्ने भएको छ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल गरिनेछ।
यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३’ माथि प्रस्तुति र छलफल हुने कार्यसूची छ।
त्यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा विद्युत्का पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
आजको प्रतिनिधिसभा बैठक र संसदीय समितिका छलफलहरूबाट प्रशासन, पूर्वाधार, मानवअधिकार, पर्यटन तथा खानी क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।



