भोजपुर – फुसको छानो हटाएर नागरिकको जीवन सुरक्षा र आवास सुधार गर्ने उद्देश्यअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नै बजेटबाट गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार यस अभियानअनुसार तयार गरिएको कार्यविधि अनुसार हालसम्म आवेदन दिएका ६९९ घरमध्ये ५२५ परिवारको छानो फेरिसकेको छ ।
उनले यस वर्षभित्र सबै आवेदनकर्ताको छानो फेर्ने काम सम्पन्न हुने जानकारी दिए । यसका लागि गाउँपालिकाले रु एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ । विगत दुई आर्थिक वर्षमा छानो फेर्ने काममा गाउँपालिकाले कुल रु दुई करोड ५० लाख खर्च गरिसकेको छ । छानो वितरणमा वडाभरिका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला र दलित परिवारलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईले नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न फुसको छानो हटाउने अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार, केन्द्र सरकारबाट उपलब्ध कार्यक्रम कटौती भएकाले गाउँपालिकाले आफ्नै नीति बनाएर कार्यक्रम सञ्चालन गरेको हो । “नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नै घर हो । आर्थिक अवस्था कमजोर भएका परिवार वर्षौँसम्म चुहिने घरमा बस्दै आएका थिए । ती परिवारलाई निःशुल्क जस्तापाताको छानो दिँदैछौं, नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष राईले भने ।
उपाध्यक्ष ज्योत्सना राईका अनुसार, आगलागीको जोखिम न्यूनीकरण, मनसुनमा हुने चुहावट रोकथाम र वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति रोक्न फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको हो । यसले नागरिकको जीवन सुरक्षा बढाउनेसँगै वनमा लागेको आगोको क्षति न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ ।
अभियान अन्तर्गत वडानम्बर १–६ का विभिन्न स्थानमा ६९९ परिवारलाई जस्तापाताको छानो वितरण गरिने छ । वितरण विवरण यस प्रकार छ – वडा नं १ श्याशिला १३१, वडा नं २ तिवारी भञ्याङ ७१, वडा नं ३ च्याङ्ग्रेका १०६, वडा नं ४ बास्तिम १०४, वडा नं ५ सोनादुम्का १३२ र वडा नं ६ ठूलोदुम्मा १५५ परिवार।



