काठमाडौं : नेपालमा सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोगबाट हुने साइबर अपराधसमेत बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।
सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, ठगी, अनलाइन स्क्यामिङदेखि अनधिकृत पहुँचसम्मका गतिविधि बढेपछि साइबर ब्यूरोले सीमित स्रोतसाधनका बाबजुद उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै संलग्नलाई कानुनी दायरामा ल्याउने काम गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
पछिल्लो समय साइबर अपराधमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ । नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाललाई इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा गत असार २६ गते पक्राउ गरिएको थियो । त्यस्तै, सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पु¥याएर ठगी गरेको आरोपमा नुवाकोटकै १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परेका थिए ।
इसेवाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम साहलाई पनि प्रहरीले असार २ गते पक्राउ गरेको थियो । उनीहरू पछिल्लो समय देखिएका साइबर अपराधका प्रतिनिधि पात्र मात्र भएको प्रहरीले जनाएको छ ।
फेसबुक–म्यासेन्जरका उजुरी धेरै
साइबर अपराधसम्बन्धी कुल २० हजार ५२६ निवेदनमध्ये सबैभन्दा धेरै फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसम्बन्धी छन् । यस अवधिमा फेसबुक÷म्यासेन्जर दुरुपयोगका सात हजार १२३ निवेदन दर्ता भएका छन् ।
त्यसपछि टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१ र इन्स्टाग्रामका ६२८ निवेदन दर्ता भएका छन् । इमेलका ११४, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११ र गुगलका ११ वटा निवेदन परेका छन् ।
इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ र संस्थासम्बन्धी ८४६ वटा निवेदनसमेत प्रहरीमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका छन् भने १५५ जना पक्राउ परेका छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र आव २०८०/८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए । तथ्याङ्कले पछिल्लो आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी निवेदन बढेको देखाएको छ ।
ठगीका नयाँ शैली
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको बताउनुभयो ।
पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पु¥याएर ठगी गर्ने क्रम बढेको उहाँले बताउनुभयो । यस्तै, गिफ्ट, लोट्री तथा पार्सल पठाएको भन्दै रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने र वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्तिसमेत देखिएको छ ।
टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने र अनलाइन सपिङका नाममा रकम असुल्ने घटना पनि बढिरहेको प्रहरीले जनाएको छ ।
प्रविधिको दुरुपयोगसँगै अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अपराध अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ ।
साइबर ब्यूरोको स्थापना
प्रविधिको प्रयोगबाट हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो ।
ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।
नेपाल प्रहरीले प्रविधिको प्रयोगबाट हुने अपराधको रोकथाम तथा अनुसन्धानमा सक्रिय रहँदै आएको जनाएको छ । साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको छ ।



