नुवाकोट – नुवाकोटको लिखु गाउँपालिकाले स्थापना भएको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ। गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद तथा उपयुक्त जग्गा प्राप्तिमा भएको ढिलाइका कारण लामो समयदेखि प्रशासनिक भवन निर्माण अघि बढ्न सकेको थिएन।
गाउँपालिकाले बुधबार भवन निर्माणको शुभारम्भ गरेको हो। निर्माण शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले सेवा प्रवाह तथा पूर्वाधार विकासमा उल्लेख्य प्रगति भए पनि आफ्नै प्रशासनिक भवन नहुँदा समस्या भोग्नुपरेको बताए ।
हाल गाउँपालिकाको कार्यालय विद्यालयको भवनमा सञ्चालन हुँदै आएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि नागरिकलाई सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहज हुने अध्यक्ष श्रेष्ठको भनाइ छ।
पटकपटक फेरियो गाउँपालिकाको केन्द्र
विसं २०७३ फागुन २५ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार प्रकाशित राजपत्रमा लिखु गाउँपालिकाको केन्द्र साविक सूर्यमती गाविसको भलादमी डाँडा कायम गरिएको थियो।
तर उक्त स्थानमा प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गाको अभाव तथा बाढीपहिरोको जोखिम देखिएपछि गाउँपालिकाको केन्द्र सिमलचौर कायम गरिएको थियो। सिमलचौरमा समेत बाढीपहिरोको जोखिम बढेपछि गाउँपालिकाको कार्यालय पुनः भलादमी डाँडाबाटै सञ्चालन हुँदै आएको थियो।
गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारीका अनुसार केन्द्र परिवर्तन र उपयुक्त जग्गा प्राप्तिको विषयमा लामो समयदेखि रहेको विवाद समाधान भएपछि प्रशासनिक भवन निर्माणको बाटो खुलेको हो।
पछिल्लो पटक गाउँपालिकाले वडा नं ४ गड्खारमा केन्द्र कायम गरी प्रशासनिक भवन निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेको छ। भवन निर्माणका लागि गाउँपालिकाले ११ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सात करोड ९७ लाखमा भवन निर्माण
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार नयाँ प्रशासनिक भवन बहुविपद् प्रतिरोधी प्रविधिमा आधारित हुनेछ।
भवन बालमैत्री, अपाङ्गतामैत्री तथा महिलामैत्री हुने गरी निर्माण गर्न लागिएको उनले बताए ।
नयाँ भवनमा आवश्यक कार्यालय कक्ष, सभाहल, विषयगत शाखाका कार्यालय, न्यायिक समितिको इजलास, स्तनपान कक्ष, ज्येष्ठ नागरिक विश्राम कक्ष तथा बालमैत्री उद्यानलगायत संरचना निर्माण गरिनेछ।
भवन निर्माणको जिम्मेवारी सूर्यकिरण निर्माण सेवालाई दिइएको छ। निर्माण कम्पनीले सात करोड ९७ लाख रुपैयाँमा १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको गाउँपालिकाले जनाएको छ।
पाँचवटै वडा कार्यालय आफ्नै भवनमा
पाँच वडा रहेको लिखु गाउँपालिकाका सबै वडा कार्यालय यसअघि नै सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन्।
गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा भने मुख्य कार्यालय सञ्चालनमा समस्या हुँदै आएको थियो।
नुवाकोटमा कुल १२ स्थानीय तह छन्। तीमध्ये आफ्नै प्रशासनिक भवन नभएको एकमात्र स्थानीय तह लिखु गाउँपालिका रहेको गाउँपालिकाले जनाएको छ।
नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सेवा प्रवाह व्यवस्थित हुनुका साथै लामो समयदेखि कायम रहेको प्रशासनिक भवनको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ।


