रसुवाको भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीका कारण भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन।

उनले क्षतिको अवस्थाबारे बुझ्ने काम भइरहेको बताए । “बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु। के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन। बुझ्ने प्रयास भइरहेको छ,” उनले भने ।

भोटेकोशी नदीमा बाढीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्थानीय प्रशासनले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा बाढीको बहावबारे निरन्तर जानकारी लिन आग्रह गरेको छ। बाढीको थप अवस्था र सम्भावित क्षतिबारे विवरण सङ्कलन भइरहेको जनाइएको छ।