प्रधानमन्त्री प्रचण्ड र मेयर साहबीच सवालजवाफ

काठमाडौँ, चैत १५ गते । देशको राजधानी काठमाडौँमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु भएको छ । सबै भन्दा जेठो पालिकाको रुपमा रहेको काठमाडौँ महानगरपालिकामा आयोजनामा उक्त सम्मेलन सुरु भएको हो ।

उक्त सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साह र प्रधानमन्त्री पुष्पकमल दाहलबीच निकै सवालजवाफ भएको थियो । मेयर शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझावसँगै उहाँले भन्नुभयो, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ, तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताउनुभयो । मेयर साहले बोलेको अभिव्याक्तिको प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको हो भन्दै संविधानको मर्म र भावनअनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

नागरिकको मनमा सरकार भन्ने वित्तिकै स्थानीय जनप्रतिनीधि र कर्मचारी अग्रपङ्तिमा आउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नागरिकलाई अपनत्व बोध गराउनेगरी स्थानीय तह र जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिनुभयो । साथै प्रधानमन्त्री दाहालले संविधान र कानुनको व्यवस्था बमोजिम काम गर्न सबै स्थानीय तहलाई जनताका काम गर्न आग्रह गर्नुभयो ।