काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल)लाई तोकिएका मापदण्ड सुधार गरी नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ।
होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने, चर्को शुल्क असुल्ने, पूर्वाधार कमजोर रहेको तथा लागुऔषधको प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना जारी गर्दै एक महिनाभित्र २१ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
प्रशासनले पछिल्लो समय गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टेललाई रु तीन लाखसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरेको जनाएको छ। होस्टेलभित्रै झडप हुँदा विद्यार्थीको मृत्युसमेत भएको, सरसफाइ तथा खानाको गुणस्तर कमजोर रहेको र सुरक्षा प्रबन्ध फितलो रहेको गुनासोपछि प्रशासनले मापदण्ड कार्यान्वयनमा कडाइ गरेको हो।
प्रशासनको सूचनाअनुसार अब सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। होस्टेलमा लाग्ने शुल्क र दररेटसमेत सबैले देख्ने गरी पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र सोहीअनुसार मात्र शुल्क लिनुपर्नेछ।
होस्टेल सञ्चालक र विद्यार्थीबीच अनिवार्य सम्झौता गर्नुपर्नेछ। अन्य व्यक्तिको घर भाडामा लिएर होस्टेल सञ्चालन गरिएको भए सञ्चालकले घरधनीसँग पनि अनिवार्य रूपमा घरभाडा सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।
सुरक्षाका दृष्टिले कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटीभी जडान गर्नुपर्नेछ। होस्टेलमा २४ घण्टा जिम्मेवार वार्डेन तथा निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ।
सञ्चालक, वार्डेन तथा होस्टेलमा बस्ने सम्पूर्ण विद्यार्थीको अद्यावधिक व्यक्तिगत विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। होस्टेलको आन्तरिक सुरक्षा मजबुत बनाउँदै लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण बन्देज लगाउन पनि प्रशासनले निर्देशन दिएको छ।
पूर्वाधार र सरसफाइमा पनि कडाइ
महिला र पुरुष दुवैका लागि सञ्चालनमा रहेका होस्टेलले अनिवार्य रूपमा छुट्टाछुट्टै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्नेछ। प्रत्येक कोठा पर्याप्त फराकिलो हुनुका साथै हावा र प्रकाशको उचित व्यवस्था हुनुपर्नेछ।
होस्टेलमा व्यवस्थित पुस्तकालय तथा अध्ययन कक्ष, शुद्ध पिउने पानी, नियमित विद्युत् आपूर्ति र इन्टरनेटको वैकल्पिक व्यवस्था हुनुपर्ने प्रशासनले जनाएको छ।
त्यस्तै, होस्टेलको सरसफाइ तथा खाद्यान्नको गुणस्तर कायम गर्नुपर्नेछ। आपत्कालीन अवस्थाका लागि फायर एक्स्टिङ्गुइसर तथा प्राथमिक उपचारका सामग्री अनिवार्य राख्नुपर्नेछ भने आपत्कालीन सम्पर्कका लागि सरकारी निकायका फोन नम्बर सबैले देख्ने गरी राख्नुपर्नेछ।
होस्टेलमा बस्ने विद्यार्थी तथा अन्य व्यक्तिमाथि मानवीय व्यवहार गर्दै सुरक्षित र मर्यादित वातावरण तयार गर्नुपर्नेछ। विद्यार्थीले पनि अनुशासित र मर्यादित व्यवहार गर्नुपर्ने सूचनामा उल्लेख छ।
होस्टेल रहेको स्थान आसपासका छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने व्यवस्था मिलाउन सञ्चालकलाई निर्देशन दिइएको छ। विद्यार्थीलाई समय–समयमा मनोरञ्जनका गतिविधिमा सहभागी गराउनुका साथै मर्यादा र अनुशासन कायम गर्न महिनामा कम्तीमा एकपटक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेछ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले सूचनामा तोकिएको एक महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा नगर्ने निजी होस्टेल सञ्चालकमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताउनुभएको छ।




