काठमाडौं – नेपाली सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी)सहित बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टिम लिएर हेलिकप्टर काठमाडौंबाट जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो। बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको तत्काल उपचार तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मेडिकल टिम परिचालन गरिएको हो।
यसैगरी, धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ। यसअघि नै नेपाली सेनाका दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रको उद्धार तथा निरीक्षणका लागि परिचालन भइसकेका थिए।
बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो। बाढीका कारण रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीको बहाव नुवाकोट हुँदै धादिङसम्म पुगेको छ। भोटेकोशी तथा त्यससँग जोडिएका नदीको तटीय क्षेत्रमा जोखिम बढेपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण सङ्कलन तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।


