काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा उपचारका लागि स्वास्थ्य क्षेत्रले आपत्कालीन तयारी तीव्र बनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरले सात जना चिकित्सकलाई आवश्यक औषधिसहित बाढी प्रभावित क्षेत्रतर्फ पठाएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन प्रणाली सक्रिय बनाएको जनाएको छ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार सात जना चिकित्सकलाई केही आवश्यक औषधिसहित बाढी प्रभावित क्षेत्रमा पठाइएको हो।
“अहिले केही औषधिसहित आकस्मिक टोली बाढी प्रभावित ठाउँमा पठाएका छौँ,” डा. मरासिनीले भने, “अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौँ।”
बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राखेको छ। घाइतेको तत्काल उपचार तथा स्थानीयस्तरमा उपचार सम्भव नभएमा माथिल्लो तहका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालय बिहानैदेखि सतर्क अवस्थामा छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई आवश्यक तयारी गर्न जानकारी गराइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय पारिएको छ।
“बिहानदेखि काममा जुटिसकेका छौँ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौँ। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,” डा. अधिकारीले भने ।
स्थानीय अस्पतालदेखि हब अस्पतालसम्म उपचारको व्यवस्था
मन्त्रालयका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचारसँगै बिरामीको अवस्था छुट्याउने अर्थात् ‘ट्रायज’को व्यवस्था गरिनेछ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्ने पूर्वनिर्धारित विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।
मन्त्रालयले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ।
प्रभावित क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रवक्ता अधिकारीले बताए ।
उनका अनुसार त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्थाका आधारमा स्थानीयस्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।
“यस्ता विपद्का घटनाका लागि पहिले नै बनेका कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् कार्ययोजना हुन्छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभएमा हब अस्पतालमा रिफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,” डा. अधिकारीले भने ।
घाइतेको विवरण सङ्कलन हुँदै
बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार घाइते तथा प्रभावितको विवरण सङ्कलन र अद्यावधिक गर्ने काम भइरहेको छ। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने उनले बताए ।
“अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक भइसकेको छैन। विवरण आएपछि बेलुकासम्म अपडेट गर्छौँ,” उनले भने ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण बस्ती, जलविद्युत् आयोजना तथा प्रहरी कार्यालयमा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य उपचारको व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ।



