धादिङ – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बाढीले सडकको ठूलो हिस्सा कटान गर्नुका साथै भित्तासमेत भासिएपछि अहिले दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँ भित्रिने तथा बाहिरिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।
यसैबीच, त्रिशूली र नारायणी नदीमा जलसतह अत्यधिक बढेको तथा राजमार्गका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेका कारण यात्रा जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ ।
सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेकको यात्रा नगर्न तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।



