चिनियाँ वायुसेनाका दुईवटा विमान  ५० टन आपत्कालीन राहत सामग्रीसहित काठमाडाैंमा अवतरण

काठमाडौं – चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ ।

आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला मालवाहक विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत आपत्कालीन राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा चिनियाँ राहत सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो । सो अवसरमा उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए ।

१३ हजार २०० थान राहत सामग्री

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुईवटा विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन् । ती विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ ।

चीनले विपद् प्रभावितका लागि पठाएको राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।

नेपाल–चीन सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी प्रतिकार्यमा सहयोग पुर्‍याउन चीनले आपत्कालीन राहत सामग्री र उद्धार विशेषज्ञ टोली नेपाल पठाएको हो ।