भक्तपुर – सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख थापाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।
उनले राष्ट्रिय विपद्को यस घडीमा मानवीय दायित्व बहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गरे ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार राहत कोषमा नगर प्रमुखको तर्फबाट ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार तथा वडाध्यक्षहरूको तर्फबाट प्रतिव्यक्ति १० हजारका दरले एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ६ हजार तथा वडा सदस्यहरूले प्रतिव्यक्ति २ हजार ५०० का दरले सहयोग रकम उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।



