काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। यी आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।
प्राप्त विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ११ आयोजनाबाट ८९४ जना सम्पर्कविहीन रहेको उल्लेख छ। आइतबार साँझसम्म आयोजनाहरूबाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिसको अवस्था अझै अज्ञात रहेको छ।
रसुवामा ६ आयोजना प्रभावित
रसुवा जिल्लामा मात्रै ६ वटा जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता ४९४ मेगावाट रहेको छ।
रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) बाट मात्रै ५७३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। यस्तै, रसुवा–भोटेकोशी (१२० मेगावाट) बाट ९३ जना, माथिल्लो त्रीशूली–१ (२१६ मेगावाट) बाट ५७३ जना, लाङटाङ खोला (२० मेगावाट) बाट ४ जना, चिलिमे (२२ मेगावाट) बाट ४१ जना र मैलुङ खोला (५ मेगावाट) बाट ८ जना सम्पर्कविहीन रहेको विवरण छ।
नुवाकोटमा पनि जलविद्युत् आयोजना प्रभावित
नुवाकोटका प्रमुख जलविद्युत् आयोजनामध्ये त्रीशूली (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट), माथिल्लो त्रीशूली–३ ‘ए’ (६० मेगावाट), माथिल्लो त्रीशूली–३ ‘बी’ (३७ मेगावाट), मिडल त्रीशूली गंगा (१५.६ मेगावाट) र २५ मेगावाटको सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्।
माथिल्लो त्रीशूली–३ ‘बी’ आयोजनाबाट ४२ जना र मिडल त्रीशूली गंगाबाट १२२ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। देवीघाट र माथिल्लो त्रीशूली–३ ‘ए’बाट एक–एक जना सम्पर्कविहीन रहेको जनाइएको छ।
माथिल्लो त्रीशूली–३ ‘ए’मा उद्धार चुनौतीपूर्ण
माथिल्लो त्रीशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सोमबार पनि निरन्तर प्रयास गरिएको छ। २४ घण्टादेखि उद्धार कार्य जारी रहे पनि हालसम्म केबल टनेलको पोर्टल सफा गर्ने काम मात्रै सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सोमबार सुरुङमा क्राउन ब्लास्ट गरी केबल टनेलमा पानी रहेको पत्ता लागेपछि वाटर पम्प सेट प्रयोग गरेर पानी निकाल्ने काम गरिएको थियो। सुरुङको मुखतर्फ रहेका ढुंगा–माटोको थुप्रो हटाएर भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम पनि भइरहेको छ।
प्राविधिक टोलीले निरन्तर काम गरिरहेको भए पनि सुरुङभित्र पानी भरिएकाले उद्धार थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभएको छ।
रसुवागढीमा सेनाको टोलीले गर्यो खोजी
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि नेपाली सेनाको नेतृत्वमा उद्धार तथा खोजी टोली पुगेको छ। इन्जिनियर र ड्रोन टोलीसहित सुरुङभित्र प्रवेश गरेको टोलीले आयोजनाको अन्तिम भागसम्म खोजी गरेको थियो।
सुरुङभित्र ड्रोनमार्फत समेत अवलोकन गर्दा मानिस फेला नपरेपछि तत्कालका लागि खोजी कार्य सकेर टोली रसुवाको धुन्चे फर्किएको जनाइएको छ। आयोजनाका ४९ जना कर्मचारीसहित ९३ जना सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
चिलिमेमा ९० मिटरसम्म मात्रै पुग्यो टोली
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा पनि बाढीपछि रोकिएको उद्धार तथा खोजी कार्य सोमबार पुनः सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, भारतीय प्राविधिक टोली तथा आयोजनाका कर्मचारीले विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने काम गरेका छन्।
करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली ९० मिटरसम्म पुगे पनि त्यसभन्दा भित्र जान सकेको छैन। आवश्यक उपकरण प्रयोग गरी विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने काम भइरहेको चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनले बताउनुभएको छ।
लाङटाङ खोलामा पनि उद्धार टोली पुग्यो
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुगेको छ। नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोलीले आयोजनास्थल पुगेर निरीक्षण गरे पनि सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न भने सकेको छैन।
आयोजनाले मंगलबार पनि आफ्नातर्फबाट उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ।
माथिल्लो त्रीशूली–३ ‘बी’मा संरचना नै बगे
३७ मेगावाटको माथिल्लो त्रीशूली–३ ‘बी’ आयोजनामा पनि आइतबारदेखि सम्पर्कविहीन व्यक्तिको खोजी भइरहेको छ। आयोजनाका अधिकांश संरचना बाढीमा बगेकाले उद्धार कार्य कठिन बनेको छ।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आयोजनासँगै रहेको २२० केभीको त्रीशूली–३ ‘बी’ हब सबस्टेसनमा समेत पूर्णरूपमा क्षति पुगेको छ। त्यसकारण त्यहाँबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजीमा समेत समस्या भइरहेको छ।
माथिल्लो त्रीशूली–१ बाट तीन जनाको उद्धार
२१६ मेगावाटको माथिल्लो त्रीशूली–१ आयोजनामा फसेका व्यक्तिमध्ये सोमबार थप तीन जनाको उद्धार भएको छ। हालसम्म उद्धार तथा सम्पर्कमा आएका व्यक्तिको संख्या ८७३ पुगेको जनाइएको छ।
यद्यपि परामर्शदाता कम्पनी, ठेकेदार कम्पनी तथा आयोजनाका कर्मचारीसमेत गरी ५७३ जना अझै सम्पर्कविहीन रहेको विवरण छ। तीमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कर्मचारी रहेको बताइएको छ। उनीहरू सुरुङभित्रै बसेर काम गरिरहेका थिए वा प्रवेश गर्न बाँकी थिए भन्ने यकिन भइसकेको छैन।
बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ। त्यसैले सम्पर्कविहीनको वास्तविक संख्या यकिन गर्न थप विवरण संकलन तथा खोजी कार्य आवश्यक देखिएको छ।
भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका उत्पादन तथा निर्माण संरचनामा मात्रै ठूलो क्षति पुर्याएको छैन, आयोजनामा कार्यरत ठूलो संख्याका व्यक्तिको अवस्थासमेत अज्ञात बनाएको छ। उद्धार टोलीले प्रतिकूल भौगोलिक अवस्था, सुरुङमा भरिएको पानी, भत्किएका संरचना र अवरुद्ध पहुँचका बीच खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।



