भदौ २२ गते राष्ट्रिय शोक, २३ गते सार्वजनिक बिदा

काठमाडौं – सरकारले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको सम्मानस्वरूप भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बाढी आएको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर राष्ट्रिय शोक दिवस मनाउन लागिएको हो । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

यस्तै, सरकारले भदौ २३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा समेत देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।