काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआराधना, भजनकीर्तन, प्रवचन तथा विशेष धार्मिक कार्यक्रम आयोजना भइरहेका छन् ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । यस दिन महिला तथा पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय र अत्याचारविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा प्रेरणा दिने भगवान् श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा पूजा गरिन्छ ।
श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भागवतगीता’ हिन्दू धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएका श्रीकृष्णले कंश, पुतना, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष पूजा तथा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधामलगायत राजधानीका विभिन्न कृष्णमन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।



